परीचय

मगर जातिको संक्षिप्त परिचय
मगर जाति नेपालको एक प्रमुख राष्ट्रिय जाति हो। नेपालको मध्यपश्चिमा तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम जाजरकोट, प्युठान, रोल्पा, पाल्पा, स्याङ्जा, तनहुमा आदिमकालदेखि बस्दै आएको, जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो। नेपालका पश्चिम तथा मध्यपसश्चिममा रहेका ठकुरिहरू पनि पहिलेका मगरहरू नै हुन्। वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसंख्या भएका मगरहरू पूरै नेपालको जनसंख्याको ७.१४% छन्। वि.सं. २०६८ सालको जनगणना अनुसारको जनसंख्‍या प्राप्‍त भइसकेको छैन।


नवलपरासी, पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, गोर्खा, सल्यान रूपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, सर्लाही, महोत्‍तरी, उदयपुर, धनुषाको पहाडी भाग, मोरङ, पाँचथर लगायतका क्षेत्रहरूमा बसोबास गर्दछन्। यिनीहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको र सबभन्दा ठूलो संख्या भएको स्वदेशी (indigenous) जाति हो। वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसंख्याको ७४.६०% हिन्दू धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन्। यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए। ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसित काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।

मगरका प्रमुख थरहरु
मगरहरूका जम्मा सात किसिमका थरहरू पाइन्छ - थापा, राना, आले, पुन, बुढाथोकी, घर्ती र रोका आदि।

मगरका अन्‍य उपथरहरु
मगर समुदायमा लुङ्‌गेली, लामिछाने, मिरिङचिन, सोती, पाइजा, माकिम, रैका, रेग्‍मी, गाहा, खपाङ्‌गी, पिठाकोटे, समाल, राना, खप्तरी, घर्ती, थापा, पुन, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, असलामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ, बुढा, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका, सथिघरे मगर लगायत झण्‍डै चार सयको हाराहारीमा उपथरहरू रहेका छन्।

भाषा, भेषभुसा
मगर जाति आफ्नै मगर भाषाका अलावा नेपाली भाषा पनि बोल्दछन। मगर बाहुल्‍यता भएका धेरै गाउँहरुमा मगरहरुले नेपाली खस भाषा अहिले पनि बोल्‍न नजान्‍नेहरु छन्‌। मगर जातिका नेपालीहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन दसै, तिहारका अलावा मगरहरू धुमधामसँग भँयर, माघे सक्रान्ती आदी पर्व मनाउने गर्दछन्‌। भोट–बर्मेली भाषा अन्‍तर्गत पर्ने यिनीहरूको भाषालाई ढूट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ।

पहिरन
भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।

रहन सहन तथा पेशा
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानूनी, विकास निर्माण, राजनैतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।
मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनीहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनीहरूको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच्‍यो हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी (द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा...’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।
हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाकेपश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज (कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वती देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।
हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किनभने हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूला मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यही तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थेगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।
मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ। यिनीहरू विवाह गर्दा सकेसम्‍म आफ्नो जातभित्रै गर्ने गर्दछन्। केही वर्ष अघिसम्‍म मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गरेका थिए। तर यो प्रचलन वर्तमान दिनहरुमा बिस्‍तारै हराउँदै गइरहेका छन्‌। धेरै मगर गाउँहरुमा यस्‍तो प्रचलनलाई स्‍थानीयहरुनै बिस्‍थापित बनाउँदै गइरहेका छन्‌। यिनीहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन्। मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतीलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ। विवाह भईसकेपछि केटाकेटीहरू केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ। चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरूप तिरिने रूपैयाँ हो। चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ। मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ। यिनीहरू मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन्।

लोक बाजाहरु
मगर जातिका बाजाहरूमा खैँजडी, मादल, अलङ्‌का, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, डम्फू, दमाहा, मरुली, डौदी, झ्याली आदि मुख्य छन्।

[ईसई वाऱाक्‌मा मगर ढूटाङ छीट्‌टई न राहामन ले]

स्रोत : नेपाली विकिपेडिया