समचार

मगर भाषाको बाइबल प्रकाशन विषयक अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

यही २०७० मंसीर १० र ११ गते धरानस्थित, सियोन मेथोडिष्ट चर्चमा मगर भाषाको बाइबल प्रकाशन विषयक दुइदिने अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भयो। मध्य तथा पूर्वाञ्चलका १० जिल्लाहरुबाट पाष्टर, अगुवा तथा प्रतिनिधि विश्वासीहरुका उपस्थिति रहेका थिए। मगर हृदय समाजको आयोजना रहेको यस कार्यक्रममा ६० जना उपस्थिति भएका थिए। भाषा सर्वेक्षणको क्रममा अपनाईएका विभिन्न विधिहरु (PMEC Tools)को जानकारीको साथै त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभाव, कीर्तिपुरको साझेदारीमा सम्पन्न भाषा सर्वेक्षणको विविध तहको बारेमा मगर भाषाका सर्वेक्षक विजय लुङ्गेली मगरले विशेष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
विभिन्न जिल्लाका प्रतिनिधि सहभागीहरुले आ–आफ्ना विचार प्रकट गरे। यसै क्रममा बाइबल चर्च, राजघाट, सर्लाहीका पाष्टर गोपालराज मैनालीले, "भाषाको माध्यमबाट कुनै पनि भाषा समूहलाई सुसमाचार सुनाउन सहज हुँदछ। उनीहरुको भाषामा कुरा गर्दा आत्मियता बढ्दछ। सुसमाचरीय मिसनको इतिहासलाई हेर्दा धेरैजसो मिशनरीहरुले लक्षित जातिहरुको भाषा र संष्कृति सिकेर सुसमाचारको कामलाई थालनी गरेका थिए।" भनी भन्नुभयो। त्यसैगरी क्यारी फरवार्ड नेपालका राष्ट्रिय निर्देशक, पावल राना मगरले, "कुनै पनि लक्षित भाषा समूहमा सुसमाचार प्रचार गर्दा जातिय वा भाषिक विखण्डीकरण हुन्छ भन्ने गलत मानसिकता राख्नुको साटो बरु यो त एउटा (Ethnic to Ethnic) रणनीतिको रुपमा हामीले बुझ्नुपर्छ” भनी प्रष्ट पार्नुभयो।
नेपाली इसाई मण्डली, मुढेबास, धनकुटाका अनिता ठाडा मगरको सञ्चालन साथै यसै चर्चका एल्डर रोमी लामिछाने मगरको स्वागत र संयोजक्वतमा पूर्वेली मगर भाषामा बाइबल प्रकाशनका लागि ३० सदसीय सल्लाहकार समिति गठन भयो। अन्तमा, सियोन मेथोडिष्ट चर्च, नेपालका पाष्टर तथा सियोन इन्टरनेशलन एकेडेमी, धरानका निर्देशक, खड्ग बहादुर थापा मगर ज्यूको मगर भाषामै आशिष र धन्यबादको प्रार्थनाकासाथ यस कार्यक्रमको समापन भयो।